सङ्गठनात्मक व्यवहार

व्यवस्थापनको क्षेत्रमा सङ्गठनात्मक व्यवहार नयाँ विधा हो। सङ्गठनात्मक व्यवहार सङ्गठन र व्यवहार दुई शब्द मिलेर बनेको छ। सङ्गठन भन्नाले दुई वा दुईभन्दा बढी मानिसहरूको समूह हो जुन निश्चित ढाँचामा रही सामूहिक उद्देश्य प्राप्तिका लागि समन्वयात्मक ढङ्गमा कार्य गर्दछ। व्यवहार निश्चित वातावरणमा कुनै व्यक्तिद्वारा गरिने विभिन्न क्रियाकलाप हो। कुनै पनि दुई व्यक्तिको व्यवहार समान वातावरणमा पनि उस्तै हुँदैन र उही व्यक्तिको पनि फरक वातावरणमा उस्तै व्यवहार हुँदैन । यसैले व्यक्ति व्यवहारिक रूपमा अस्थिर हुन्छ। तर सङ्गठनको लक्ष्य प्राप्तिका लागि व्यक्तिहरूको व्यवहार महत्त्वपूर्ण हुन्छ।

सङ्गठनात्मक व्यवहार समग्रमा सङ्गठनात्मक वातावरणमा व्यक्तिहरूको अपेक्षित व्यवहारलाई अध्ययन गर्ने विधा हो। सङ्गठनात्मक व्यवहारले खासगरी सङ्गठन भित्र व्यक्ति, समूह र संरचनाको भूमिका कस्तो रहन्छ भन्ने विषयको अध्ययन गर्दछ। यसरी सङ्गठनमा कार्यरत मानिसहरूको व्यवहारको विभिन्न पक्षहरूको अध्ययनसँग सम्बन्धित विषय नै सङ्गठनात्मक व्यवहार हो।

परिभाषा

Stephen P. Robbins: Organizational behavior is a field of study that investigates the impact that individuals, groups and organizational structure have on behavior within the organization, for the purpose of applying such knowledge towards improving an organizational effectiveness. (सङ्गठनात्मक व्यवहार एउटा शैक्षिक विधा हो, जुन सङ्गठनभित्र मानिस, समूह र सङ्गठनात्मक संरचनाको व्यवहारमा पर्ने असर अध्ययन गरी यस्तो विद्यालाई सङ्गठनात्मक प्रभावकारिताको लागि उपयोग गर्दछ।)

Fred Luthans: Organizational behavior is directly concerned with the understanding, prediction and control of human behavior in organization. (सङ्गठनात्मक व्यवहार सङ्गठनमा मानवीय व्यवहारको बोध, पूर्वानुमान र नियन्त्रणसँग प्रत्यक्षत सम्बन्धित हुन्छ।)

Wikipedia: Organizational behavior is a field of study that investigates the impact that individuals, groups and structures have on behavior within an organization.

तसर्थ सङ्गठनात्मक प्रभावकारिता हासिल गर्नका लागि सङ्गठनमा कार्यरत व्यक्ति एवं समूहको व्यवहार र सङ्गठन स्वयंको प्रभावका बारेमा अध्ययन र प्रयोगसँग सम्बन्धित विषय नै सङ्गठनात्मक व्यवहार हो।

विशेषता

१.     सङ्गठनात्मक व्यवहार एउटा अन्तर्विधात्मक विषय (Interdisciplinary field) हो।

२.     यो अनुसन्धानात्मक एवं प्रयोगमूलक (Research and Application Oriented) हुन्छ।

३.     यो कार्य तथा लक्ष्य केन्द्रीय (Action and Goal Oriented) हुन्छ।

४.     यो गतिशील (Dynamic) हुन्छ।

५.     विश्लेषणको बहुतह (Multiple Level of Analysis) हुन्छ।

६.     यसले सङ्गठनका व्यवहारिक पक्ष (Behavioral Aspect of Management) मा ध्यान दिन्छ।

७.     सङ्गठनात्मक व्यवहार एक प्रणालीगत व्यवहारको विषय (Organizational behavior as a system) हो।

सङ्गठनात्मक व्यवहारमा अन्य विधाहरूको योगदान

सङ्गठनात्मक व्यवहार अन्तर्विधात्मक विषय हो। यसले विभिन्न फरक-फरक विधाहरूबाट प्रभावित भएको छ।

१.     मनोविज्ञान (Psychology)
२.     समाजशास्त्र (Sociology)
३.     राजनीतिशास्त्र (Political Science)
४.     सामाजिक मनोविज्ञान (Social Psychology)
५.     मानवशास्त्र (Anthropology)
६.     व्यवस्थापन (Management)

सङ्गठनात्मक व्यवहारको उद्देश्य

सङ्गठनात्मक व्यवहार व्यक्तिको व्यवहारलाई व्यवस्थापन गरी सङ्गठनात्मक प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्य राख्दछ। सङ्गठनात्मक व्यवहारको उद्देश्यहरूलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ।

१.     व्याख्या गर्ने (Describe): सङ्गठनमा कार्यरत व्यक्ति, समूहले फरक-फरक अवस्थामा गर्ने व्यवहारको बारेमा विश्लेषण र व्याख्या गर्ने।

२.     बुझ्ने (Understand): एउटा विशेष परिस्थितिमा व्यक्तिले कसरी र कस्तो व्यवहार गर्दछ भन्ने विषयमा बुझ्ने।

३.     पूर्वानुमान गर्ने (Predict): विश्लेषण एवं बुझाइका आधारमा मानिसको प्रकृतिको बारेमा जानकारी लिई भविष्यमा देखाउने व्यवहारको पूर्वानुमान गर्ने।

४.     नियन्त्रण गर्ने (Control): निरन्तर सञ्चारको माध्यमबाट विशेष वातावरणमा व्यक्तिको व्यवहारलाई नियन्त्रण गरिरहने।

सङ्गठनात्मक व्यवहारमा प्रभाव पार्ने तत्वहरू

१.     विश्वव्यापीकरण
२.     कर्मचारीहरूमा विषमता
३.     प्रतिस्पर्धात्मक अवस्था
४.     कर्मचारीको व्यक्तिगत व्यवहार र शैली
५.     साङ्गठनिक संरचना र सोको शैली
६.     सामाजिक उत्तरदायित्व र व्यवस्थापकीय आचरण
७.     प्रविधिको विकास
८.    सहभागितामुलक संस्कृत एवं समावेशी अवधारणा
९.     परिवर्तनको सामना
१०.   साङ्गठनिक निष्ठा

सङ्गठनात्मक व्यवहारका नविन प्रवृत्तिहरू

१.     मानव केन्द्रित अवधारणामा जोड
२.     विकेन्द्रीकरणमा जोड
३.     कर्मचारीलाई साझेदारको रूपमा लिने व्यवहारको सुरुवात
४.     प्रतिस्पर्धात्मकतामा जोड
५.     आत्मनिर्देशन, स्वनियन्त्रण र स्वअनुशासनमा जोड
६.     कार्यसन्तुष्टिको भावनामार्फत उत्प्रेरणाको अभिवृद्धि
७.     सङ्गठनात्मक एवं व्यक्तिगत लक्ष्य बीच उचित सन्तुलन र एकीकरणमा जोड

सङ्गठनात्मक व्यवहारको अध्ययनले व्यवस्थापनलाई सक्षम र सुदृढ बनाउन एवं सङ्गठनको उद्देश्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। त्यसैले सङ्गठनात्मक व्यवहारको अध्ययनका क्रममा व्यवस्थापकले मानवीय पक्षलाई सङ्गठनको काम, कामको प्रक्रिया र पद्धतिसँग आबद्ध गर्नुपर्दछ।  अनि कसरी सङ्गठनले मानिसको व्यवहारमा असर पार्दछ र कसरी मानिसले सङ्गठनलाई असर पार्दछ भन्ने बुझेर सङ्गठनको दक्षता, प्रभावकारिता र उत्पादनशीलता बढाउन अग्रसर हुनुपर्दछ।

स्रोत

  • सङ्गठनात्मक व्यवहार: अवधारणा र महत्त्व (प्रशासन पत्रिका), रमेश अर्याल
  • Organizational Behaviour, V.G. Kondalkar
  • http://en.wikipedia.org/wiki/Organizational_behaviour
Did you like this? Share it:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post Navigation