कार्यसम्पादन मूल्याङ्कन

कार्यसम्पादन मूल्याङ्कन

पूर्वनिर्धारित मानक तथा सङ्गठनात्मक लक्ष्यका आधारमा कर्मचारीले सम्पादन गरेको कार्यको उपलब्धि तथा उत्पादकत्व मापन गर्ने सुनियोजित तथा आवधिक विधि नै कार्यसम्पादन मूल्याङ्कन हो। कार्यसम्पादन मूल्याङ्कनबाट कर्मचारीलाई सङ्गठनात्मक लक्ष्य हासिल गर्ने तर्फ उत्प्रेरित गर्न सकिन्छ। कार्यसम्पादन मूल्याङ्कनलाई तालीमको आवश्यकता पहिचान, कर्मचारीको वृत्ति विकास तथा समग्र सङ्गठनको कार्यलक्ष्य तोक्नको लागि समेत उपयोग गर्न सकिन्छ। कार्यसम्पादन मूल्याङ्कनले सङ्गठनले राखेको लक्ष्यबमोजिमको उपलब्धि, सङ्गठनको लागत, समय, कार्यको प्रभावकारिता, गुणस्तर तथा कमीकमजोरीहरूलाई मापन तथा पहिचान गरी सुधार गर्न मार्ग प्रशस्त गर्दछ।

कार्यसम्पादन मूल्याङ्कनका फाइदाहरू

  • कर्मचारीलाई व्यक्तिगत रूपमा तथा तुलनात्मक रूपमा उनीहरूको कार्यसम्पादनको स्तरअनुसार पृष्ठपोषण दिन सकिने,
  • सङ्गठनको प्रभावकारितामा सुधार आउने,
  • सञ्चारमा सहजताको कारणले कर्मचारीमा अनिश्चितताको मनोवृत्ति हटी कर्मचारीहरूलाई उत्प्रेरित गर्न सकिने,
  • कर्मचारीहरू माझ विश्वासको वातावरण सिर्जना गर्न मद्दत गर्ने,
  • लक्ष्य निर्धारण (Goal Setting) को माध्यमबाट कर्मचारीको व्यक्तिगत लक्ष्य र समग्र सङ्गठनात्मक लक्ष्यबीच सामञ्जस्यता ल्याउन सकिने,
  • कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउनको लागि आधार तयार हुने,
  • तालीम आवश्यकताको पहिचान गर्न सकिने।
  • व्यक्तिगत कार्यसम्पादन र समग्र सङ्गठनात्मक कार्यसम्पादनको सम्बन्ध स्थापना गर्न कठिन,
  • साधारणतः कर्मचारीमा कार्यसम्पादन मूल्याङ्कनप्रति नकारात्मक धारणा रहने गर्दा यसले सुपरभाइजर र कर्मचारी बीच तनावको स्थिति सिर्जना गर्ने,
  • कार्यसम्पादन मूल्याङ्कनमा पक्षपातको अवस्था अत्याधिक रहने हुँदा यो त्रुटि पूर्ण हुन सक्ने,

कार्यसम्पादन मूल्याङ्कनका बाधकहरू

  • व्यक्तिगत कार्यसम्पादन र समग्र सङ्गठनात्मक कार्यसम्पादनको सम्बन्ध स्थापना गर्न कठिन,
  • साधारणतः कर्मचारीमा कार्यसम्पादन मूल्याङ्कनप्रति नकारात्मक धारणा रहने गर्दा यसले सुपरभाइजर र कर्मचारी बीच तनावको स्थिति सिर्जना गर्ने,
  • कार्यसम्पादन मूल्याङ्कनमा पक्षपातको अवस्था अत्याधिक रहने हुँदा यो त्रुटि पूर्ण हुन सक्ने ।

कार्यसम्पादन मूल्याङ्कनका विधिहरू

१.      व्यक्तिगत मूल्याङ्कन विधि (Individual Evaluation Method)

  • गोप्य प्रतिवेदन (Confidential Report)
  • निबन्ध मूल्याङ्कन (Essay Evaluation)
  • नाजुक घटना विधि (Critical Incident Technique)
  • परीक्षण सूची (Checklists)
  • रेखाचित्र मापन स्केल (Graphic Rating Scale)
  • व्यवहारमा आधारित मापन स्केल (Behaviorally Anchored Rating Scale)
  • अनिवार्य छनौट विधि (Forced Choice Method)
  • उद्देश्यद्वारा व्यवस्थापन (Management by Objective)

२.      बहुबैयक्तिक मूल्याङ्कन विधि (Multiple Person Evaluation Method)

  • श्रेणी (Ranking)
  • जोडी तुलना (Paired Comparison)
  • अनिवार्य वितरण (Forced Distribution)

३.      अन्य विधि (Other Method)

  • कार्यसम्पादन जाँच (Performance Test)
  • कार्यक्षेत्र निरीक्षण विधि (Field Review Technique)

नेपालको सन्दर्भमा कार्यसम्पादन मूल्याङ्कन

निजामती सेवामा कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनको निमित्त नीतिगत र कानुनी व्यवस्थामा समय-समयमा परिवर्तन गरिँदै आएको छ। निजामती सेवामा हाल अवलम्बन गरिएको कार्यसम्पादन मूल्याङ्कन प्रणालीका मुख्य लक्षणहरू निम्न बमोजिम उल्लेख गर्न सकिन्छ।

  • कार्यसम्पादन मूल्याङ्कन मुख्यतः कर्मचारीहरूको बढुवाको लागि कार्यक्षमता मूल्याङ्कन गर्ने विभिन्न आधारहरू (Criteria) मध्ये एक आधारको रूपमा प्रयोग भइआएको।
  • कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कनलाई फरक-फरक अङ्कभार सहित तीन तहहरूमा बाँडिएको जस अन्तर्गत सुपरीवेक्षक (२५ अङ्क), पुनरावलोकनकर्ता (१० अङ्क) र पुनरावलोकन समिति (५ अङ्क) कायम गरिएको।
  • मूल्याङ्कनकर्ता, सुपरिवेक्षक र पुनरावलोकनकर्ता को हुने र पुनरावलोकन समिति कस्तो हुने भन्ने विषयहरूमा नियममा व्याख्या गरिएको।
  • मूल्याङ्कनको प्रक्रिया अन्तर्गत सम्बन्धित कर्मचारीले आफूले एक आर्थिक वर्षमा गरेको कामहरूलाई प्रतिफल, गुणस्तर, लागत र लागेको समय गरी चार पक्षमा विभाजित गरी कामको प्रगतिको संक्षिप्त विवरण दिनु पर्ने र सुपरिवेक्षकबाट तोकिएको पूर्णाङ्क अनुसार कर्मचारीको कार्यसम्पादनको स्तरका प्रत्येक पक्षमा मूल्याङ्कन गरी आफ्नो अङ्क दिनुपर्ने र त्यसपछि पुनरावलोकन समितिबाट सुपरिवेक्षक र पुनरावलोकनकर्ताहरूबाट भएका मूल्याङ्कनको पुनरावलोकन गरी अङ्क दिनुपर्ने व्यवस्था रहेको।
  • पुनरावलोकन समितिबाट कार्यसम्पादन मूल्याङ्कन अन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी, द्वितीय श्रेणी, तृतीय श्रेणी, राजपत्र अनङ्कित श्रेणी र श्रेणीविहिनमा कर्मचारीहरूको व्यक्तिगत गुण एवं आचरणको मूल्याङ्कन गर्ने प्रयोजनको लागि पाँच खण्डमा फरक फरक मूल्याङ्कन आधारहरू काय रहेको।
  • कार्यसम्पादन मूल्याङ्कन औपचारिक रूपमा गोप्य रहने गरेको।

यसैगरी नेपालको निजामती सेवामा कार्यसम्पादन मूल्यङ्कनको सन्दर्भमा व्याप्त समस्याहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ।

१.      प्रणालीगत समस्या

  • मूल्याङ्कन मूलतः कर्मचारी बढुवाको उद्देश्यमा केन्द्रित रहेको र यसलाई तालीमको आवश्यकता पहिचान गर्ने, वृत्ति विकासको सम्भावना आँकलन गर्ने र कार्यसम्पादन वापत प्रोत्साहन दिने जस्ता विषयमा निर्णयको लागि सघाउने संयन्त्रको रुपमा प्रयोग हुन नसकेको।
  • मूल्याङ्कन विगतको कार्यसम्पादनमा आधारित रही भविष्यको कार्यसम्पादन सम्भावना आँकलन गर्नेतर्फ केन्द्रित नरहेको।
  • मूल्याङ्कनका आधारहरूलाई कार्यविवरण र कार्यसम्पादन योजनासँग आबद्ध नगरिएको। फरक प्रकारका कार्यप्रकृति र उत्तरदायित्व भएको विभिन्न श्रेणी र पदको निमित्त पनि एकै प्रकारका मूल्याङ्कनका आधारहरू अबलम्बन गर्ने गरिएको।
  • मूल्याङ्कन तीन तहमा हुने हुँदा प्रक्रिया लामा र जटिल भएको तथा मूल्याङ्कन असान्दर्भिक पदाधिकारीबाट समेत हुने गरेको भन्ने गुनासो रहेको।
  • मूल्याङ्कनका आधारहरू वस्तुगत बनाउन खोजिए पनि यसलाई चाहिने पूर्वाधारहरू नरहेको (जस्तो विस्तृत कार्य विवरणको प्रयोग, कार्यसम्पादन योजना, कार्यसम्पादनको निमित्त प्रोत्साहन व्यवस्था आदि)
  • मूल्याङ्कनको आधारमा सुधार गर्नुपर्ने पक्षहरूका सम्बन्धमा मूल्याङ्कनकर्ताले सम्बन्धित कर्मचारीलाई जानकारी दिने व्यवस्था नभएको।

२.      व्यवहारगत समस्या

  • वस्तुगत मूल्याङ्कनको आधार भएपनि मूल्याङ्कनकर्ताबाट सोको प्रयोग मनोगत रूपमा हुने गरेको।
  • कार्यसम्पादन स्तर फरक भएको अवस्थामा पनि मूल्याङ्कनकर्ताबाट बराबर मूल्याङ्कन गरी अङ्क दिने गरिएको।
  • मूल्याङ्कन कार्य केवल औपचारिकता निभाउने माध्यममा मात्र सीमित रही कर्मचारीहरूको वास्तविक कार्यसम्पादन स्तरले कम प्रभावित गर्ने गरेको।
  • सरकारी निकायहरूमा विकसित हुँदै आएको गैर-कार्यसम्पादनमुखी नकारात्मक कार्य संस्कृतिबाट मूल्याङ्कन सम्बन्धी कार्यहरू बढि प्रभावित हुँदै आएको।

यसप्रकार नेपालको निजामती सेवामा कार्यसम्पादन मूल्याङ्कनलाई सैद्धान्तिक रूपमा मात्र अवलम्बन गरिएको अवस्था छ, व्यवहारिक रूपमा कुनै ठूलो भूमिका खेलेको छैन। निजामती सेवालाई प्रभावकारी बनाउन कार्यसम्पादन मूल्याङ्कनमा आधारित उत्प्रेरणाका उपायहरू अवलम्बन गर्न सकेमा निश्चयपनि सकारात्मक नतिजा पाउन सकिन्छ।

स्रोत

  • निजामती सेवामा तहगत प्रणाली लागू गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन, २०६४
  • कार्यसम्पादनको मूल्याङ्क (अभियान राष्ट्रिय दैनिक), नगेन्द्रराज गौतम
  • http://en.wikipedia.org/wiki/Performance_appraisal
Did you like this? Share it:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post Navigation